सरकारले बारा र पर्सा जिल्लामा हैजाको संक्रमण नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तह र बारा जिल्लाका ६ स्थानीय तहमा एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई हैजाविरुद्धको खोप मुखबाट खाने (खाेप) दिइने भएको हो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार, खोप मुखबाट दिइने प्रकारको (Oral Cholera Vaccine – OCV) हुनेछ । यो खोप सुरक्षित, प्रभावकारी र विश्व स्वास्थ्य संगठन (WHO) द्वारा प्रमाणित रहेको बताइन्छ । अभियानका क्रममा दुई चरणमा खोप वितरण गरिनेछ । पहिलो चरणमा सबै लक्षित जनसंख्यालाई पहिलो मात्रा दिइने र दोस्रो चरणमा तीन हप्तापछि दोहोर्याएर दोस्रो मात्रा दिइने योजना छ ।
गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण फैलिएको पुष्टि भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म पर्सा र बारा जिल्लामा गरी १ हजार ६ सय ८५ जना हैजाका बिरामी फेला परेका थिए । तीमध्ये अधिकांश बिरामी वीरगञ्ज महानगर तथा, जगरनाथपुर गाउँपालिका त्यस्तै बाराकाे केही क्षेत्रमा संक्रमण देखिएकाे थियाे ।
स्वास्थ्य अधिकारीहरूले दूषित खानेपानी तथा सरसफाइकाे कमिका कारण संक्रमण तीव्र रूपमा फैलिएको बताएका छन् । यसै सन्दर्भमा मन्त्रालयले खानेपानी उमालेर मात्र पिउन, खुला फोहर नफ्याँक्न, साबुनपानीले नियमित हात धुन र सुरक्षित खानेकुरामात्र उपभोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । यसअघि काठमाडौं उपत्यका र कपिलवस्तुमा पनि यस्तै प्रकृतिको मुखखोप अभियान सञ्चालन गरिएको थियो, जसले संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव पारेको थियो ।
मन्त्रालयले आशा व्यक्त गरेको छ कि बारा–पर्सामा सुरु हुने यो अभियानले पनि हैजाको जोखिम न्यून गर्नेछ र आगामी वर्षहरूमा यस क्षेत्रलाई हैजा–मुक्त बनाउन सहयोग पुर्याउने सरकारकाे उदेश्य रहेकाे छ ।