हालैको अविरल वर्षा र बाढीका कारण पर्सा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका सयौं बिगाहा धानबाली डुबानमा परेका छन् । तर, क्षतिको विवरण संकलन गर्न स्थानीय सरकारका प्रतिनिधि र कर्मचारी नआएको भन्दै किसानहरू आक्रोशित भएका छन् ।
एक साताअघि सुरु भएको लगातार वर्षा र शुक्रबार आएको बाढीले किसानका धानबालीसँगै फुसका घर र टिनका छानासमेत क्षतिग्रस्त पारेको छ । छिपहरमाई गाउँपालिकाको ओरिया खोलाको बाढीले भीस्वा, जयमंगलापुर, टिहुकी, वर्वा बनजारी, चेरगाहा र मिर्जापुर क्षेत्र बढी प्रभावित भएका छन् । त्यस्तै, सिक्टा खोलामा आएको बाढीले कालिकामाई गाउँपालिकाको वडा नं. १ मुडली टोल र रबिदास बस्तीमा ठूलो क्षति पुर्याएको छ । वडानं. २ भेडिहारीको गदियानी टोलमा रहेका खेतबारीमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ ।
पकहाँ मैनपुर गाउँपालिकाको वडा नं. ५ सबैठवा क्षेत्रमा पनि बाढीको प्रभाव परेको छ । स्थानीय नेटुइया टोल, लक्ष्मीपुर र गदियानी पोखरिया गाउँका दर्जनौं घर डुबानमा परेका छन् भने उखु र धानबालीसँगै सडकहरूमा समेत क्षति पुगेको पूर्व गाविस अध्यक्ष नसुरल्लाह मंसुरले जानकारी दिए ।
कृषक महेन्द्र रामले भने, “धान काट्ने तयारीमा थियौं, तर बाढी र पानीले सब नष्ट गर्यो । अहिले सम्म सरकारका कोही पनि आएर हेरेको छैनन्।” उनका अनुसार, अधिकांश किसानले लगानी गरेको बाली नष्ट हुँदा जीवनयापनमै संकट आइपरेको छ ।
सबैठवास्थित प्रहरी चौकी समेत डुबानमा परेको बताइएको छ । किसानहरूले तत्काल क्षतिको विवरण संकलन गरी राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । कृषकहरूको भनाइमा, “कृषि प्रधान देशमा बिउ, मल, सिँचाइ जस्ता आधारभूत सुविधा नपाउँदा किसानहरू निराश छन् । सरकारले कृषिमा प्राथमिकता नदिएसम्म विकास सम्भव छैन ।”
स्थानीय प्रशासनले भने बाढीले प्रभावित क्षेत्रको विवरण संकलन गर्न टोली पठाउने तयारी भइरहेको जनाएको छ ।
भिडियाे सामाग्रीहरू