पर्साको पकहामैनपुर गाउँपालिकामा मध्यरातमा भएको आगलागीमा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।
असोज २६ गते राति करिब २ बजे पकहामैनपुर गाउँपालिका–१ धोरे निवासी धुपनाथ राउतको गोठघरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीमा बिआर ०५ एएस ४८७९ नम्बरको भारतीय मोटरसाइकल, साइकिल, विद्युत मिटर, भैसी र दुईवटा पाडी पोलिएर घाइते भएका छन् । पाडीहरूको ढाडमा करिब १० प्रतिशत पोलिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
प्रहरी नायब उपरीक्षक एवम् जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार आगलागीबाट करिब रु १ लाख ८६ हजार बराबरको क्षति भएको छ ।
आगलागीमा मानवीय क्षति भने भएको छैन । स्थानीयवासी र प्रहरीको सहकार्यमा करिब एक घण्टापछि आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।