वीरगंज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगंज नाका हुँदै रु ८ अर्ब ७० करोड मूल्य बराबरका विभिन्न किसिमका सवारीसाधन आयात भएका छन् । वीरगंज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट मात्रै रु ७ अर्ब ७७ करोड राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवमा सवारीसाधन आयात र सोबाट उठ्ने राजस्व दुबैमा उल्लेखनीय वृद्धि भएको छ ।
गत आवको सोही अवधिमा रु ६ अर्ब १९ करोड मूल्यका सवारीसाधन आयात भएका थिए र त्यसबाट रु ५ अर्ब ९५ करोड राजस्व संकलन भएको थियो ।
चालु आवको तीन महिनामा मात्र रु ३ अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जसबाट रु ३ अर्ब २८ करोड राजस्व संकलन भएको छ। गत आवको सो अवधिमा रु २ अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ मोटरसाइकल आयात भएका थिए ।
त्यस्तै, चालु आवको सो अवधिमा रु ६२ करोड २४ लाख मूल्यका ३३० जीप, कार र भ्यान आयात भएका छन्, जसबाट रु १ अर्ब ७५ करोड राजस्व संकलन भएको छ ।
गत आवमा भने रु ७६ करोड ५८ लाख मूल्यका ४३२ जीप, कार र भ्यान आयात भएर रु १ अर्ब ९६ करोड राजस्व संकलन भएको थियो ।
यस्तै, चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्यका २२९ विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयातबाट रु ४५ अर्ब ७२ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
गत आवमा सो अवधिमा मात्र ९७ विद्युतीय सवारीसाधन आयात भएका थिए, जसबाट रु ९ करोड ११ लाख राजस्व संकलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार विद्युतीय सवारीसाधनको आयात पछिल्ला महिनाहरूमा तीव्र गतिमा बढ्दो क्रममा रहेको छ ।