सप्तरी । जेनजी समूहले आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेको छ । जेनजीका मो. मुस्तिकम आलमको नेतृत्वमा गएको समूहले संस्थानको कार्यालयमा तालाबन्दी गर्दै विद्यमान नेतृत्व हटाउन खोजिएको आरोप लगाएको छ ।
यसअघि गत शुक्रबार जेनजी समूहका युवाहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर, काठमाडौँलाई ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनपत्रमा कार्यकुशल मानिएका निमित्त प्रमुख राजाराम यादवलाई सरुवा गरी कार्यालयलाई नेतृत्वविहीन बनाउने प्रयास स्वीकार्य नहुने उल्लेख गरिएको थियो ।
प्रजिअ टुवराज पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा पहुँचका आधारमा कर्मचारी हेरफेर हुँदा नगरवासीले ठूलो मार खेप्नुपरेको आरोप लगाइएको छ । कोही १८ वर्षदेखि एउटै स्थानमा बसेर जनहितमा काम गर्ने कर्मचारीलाई हटाउन खोजिएकोमा समूहले आपत्ति जनाएको छ।
नेपाल खानेपानी संस्थानका महानिर्देशकलाई पठाइएको अर्को ज्ञापनपत्रमा कार्यालय प्रमुख यादवलाई यथावत् राख्न जोडदार माग गरिएको छ । माग पूरा नभएकाले तालाबन्दी गरिएको जेनजीका सहभागी रितेश साहले बताए ।