बाराको सिमरामा पुनः विहानदेखि आज प्रदर्शन शुरु भएको छ ।
बुधबार एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत मधेश जागरण सभाका लागी आउन लागेको बेला जेन जी यूवाहरुले विरोध जनाउन लाग्दा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए । सोहि विषयलाई लिएर आज कुटपिट गर्ने एमाले कार्यकर्ताहरुलाई पक्राउ गरी कार्वाही प्रकृया अगाडि नबढाएको भन्दै विरोध प्रदर्शन शुरु गरेको हो ।
यस्तो रहयो दिनभर सिमरा !
जेन जी युवाहरूलाई नेकपा एमालेका कार्यकर्ताहरूले कुटपिट गरेको विरोधमा बुधबार दिनभर सिमरा तनाव मै रह्यो ।
जेन जी आन्दोलनको क्रममा सहभागीहरूको मजाक उडाउने, विभिन्न अभिव्यक्ति दिएर पटक पटक विवादमा ल्याउने भन्दै महेश बस्नेतको कार्यक्रम बहिष्कार गर्ने समाजिक सञ्जालमा अभियान चलाएकै आधारमा नेकपा एमालेका कार्यकर्ताहरूले सिमरा चोकमा भेला भइरहेका जेन जी युवाहरूलाई कुटपिट गरेकै कारण अवस्था बिग्रन गएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
सुरुमा कालो झण्डा देखाउने, कार्यक्रम सहभागि हुन अवरोध गर्ने, मेसो मिले कालोमोसो नै दल्ने जस्ता विरोध कार्यक्रम जेनजी युवाहरुले राखेपनि महेश बस्नेत सिमरा आउनु पूर्व नै एमाले कार्यकर्ताले जेन जी युवाहरूलाई कुटपिट गर्दै लखेटेका थिए । सावा १० बजेको प्लेनमा एमालेका महासचिव ईश्वर पोखरेल र नेता महेश बस्नेत परवानीपुरमा आयोजना हुने मधेश जनजागरण सभामा आउनुपूर्व नै एमाले कार्यकर्ताको कुटपिटले जेनजी समूहका अगुवा सम्राट उपाध्याय सहित आधा दर्जन जेनजी युवाहरू समान्य घाईते भएका थिए ।
जेन जी युवाहरूलाई कुटपिट गरेको विरोधमा एमाले कार्यकर्तालाई उल्टै हजारौँ सङ्ख्यामा आएका जेनजी युवाहरुले एमाले कार्यकर्ताहरूलाई धपाउँदै सिमरा विमानस्थल कम्पाउन्ड भित्र प¥याएका थिए । जेन जी युवाहरूले विमानस्थलको मुख्य गेट तोडफोड गर्दै प्रहरीलाई समेत धकेला धकेली गर्दै विमानस्थलको पार्कीङ्ग भित्र पुु¥याएका थिए । लग्तै प्रहरीले तत्काल बल प्रयोग गरी उनीहरूलाई बाहिर निकालेको थियो । यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा थप जेन जी युवाहरू घाईते भएका थिए । विमानस्थल बाहिर पुर्याएका जेनजी युवाहरूले टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेपछि उक्त क्षेत्र थप तनावमय बनेको थियाे ।
यस क्रममा जिल्ला प्रशासन कार्यालय बाराले गण्डक नहरदेखि पथलैया सडक खण्डसम्मको राजमार्ग क्षेत्र दायाँ–बायाँ ५०० मिटर भित्र तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु लागू गरेको थियाे । कर्फ्यू अवधिभरमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्णतः निषेध गरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
प्रहरीले बारम्बार सार्वजनिक सडक खाली गराउन तथा भीड नबनाउन आग्रह गरे पनि केही समूहले प्रदर्शन जारी राखेकाले प्रहरीले थप बल परिचालन गरेको थियाे । सिमरा आसपासका क्षेत्रका स्थानीयबासी आवागमन रोकिएपछि दैनिक जीवनमा असर परेको छ। बजार क्षेत्रमा समेत त्रास फैलिएको थियाे ।
यता जेन जी यूवाहरुको माग अनुसार एमाले कार्यकर्ताहरूलाई तत्काल पक्राउ गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने माग बमोजिम सहमति भई यातायात खुलाइएको बाराका बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताएका थिए । यूवाहरुको माग अनुसार हामीले पहिला दोषि देखिएको पहिचान गर्ने मुद्दा चलाउने र सोहि अनुसार पक्राउ गर्ने सहमति अनुसार बाटो खुलाइएको थियाे तर अहिलेसम्म दाेषिलाइ कार्वाही समेत नगरेकाे भन्दै विराेध प्रदर्शन भइरहेका छ ।