काठमाडौं | विभिन्न २३ वटा जेन–जी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै वर्तमान सुशीला कार्की नेतृत्वको सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री प्रणालीका लागि संविधान संशोधन, ठूला भ्रष्टाचार प्रकरणमा संलग्नमाथि कडा कारबाही तथा आन्दोलनका घाइते तथा सहिद परिवारका माग सम्बोधन गर्नु सरकारको प्राथमिकता हुनुपर्नेमा सरकार केवल चुनाव केन्द्रित बनेको आरोप गरिएको छ ।
“विद्रोह केवल अर्ली इलेक्सनका लागि होइन”
जेन–जी समूहहरूले २०८० को जेन–जी विद्रोहको जगमा बनेको सरकारले जनआकांक्षा पूरा गर्न असफल भएको उल्लेख गर्दै मागहरू सम्बोधन नगरे प्रधानमन्त्रीलाई तत्काल फिर्ता बोलाउन राष्ट्रपति समक्ष माग गरेका छन्।
राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,
“यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन। विद्रोहमा संलग्न जेन–जीका २३ एलायन्स, घाइते तथा सहिद परिवारका माग सरकार तुरुन्त सम्बोधन गर्नुपर्छ।”
राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउने जेन–जी समूहहरूमा जेन–जी नेशनल फ्रन्ट लाइनर, जेन–जी स्पार्क, एन्टेक जेन–जी, ऋणी एसोसिएसन, जेन–जी वाई युनाइटेड लगायतका संगठनहरू सहभागी थिए ।
