बारा | बाराको सिमरा र आसपासका क्षेत्रमा बुधबारदेखि सुरु भएको तनावपूर्ण अवस्था अन्त्यका लागि जिल्ला प्रशासन कार्यालय बाराले सम्बन्धित पक्षलाई वार्ताका लागि आह्वान गरे पनि शुक्रबार बिहानसम्म कुनै पनि पक्ष वार्तामा सहभागी हुन आएको छैन ।
बुधबार र बिहीबारको तुलनामा शुक्रबार सिमराको अवस्था शान्त देखिए पनि प्रशासनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन संवादमार्फत समाधान खोज्ने प्रयास गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए। उनका अनुसार शुक्रबार बिहान १०:१५ बजेसम्म वार्ताका लागि आउँनेको कुनै सूचना प्राप्त भएको छैन ।
बुधबार काठमाडौँबाट एमाले नेताहरू बारा आउने सूचनापछि जेनजी समूहले विरोध प्रदर्शन थालेको थियो। बिहीबार पनि जेनजी युवाहरूले सिमरामा नाराबाजी र प्रदर्शन गरेका थिए। त्यहि प्रदर्शन–विरोधका गतिविधिबाट उत्पन्न तनावलाई साम्य पार्न प्रशासनले जेनजी समूहका प्रतिनिधिलाई समस्या समाधानका लागि वार्तामा बस्न आग्रह गरेको हो ।
“बिहीबार पनि हामी वार्ता गराउने प्रयासमा थियौँ, तर दिनभरि कोही आएनन्। आज आउने गर्दै होलान् कि भनेर प्रतीक्षा गरिरहेका छौँ,” सहायक प्रजिअ भट्टराईले बताए। उनका अनुसार वार्ता टोलीलाई गाडीसहित सुरक्षित रूपमा ल्याई–पुर्याइदिने व्यवस्था मिलाएको जानकारी दिइए पनि कसैले चासो नदेखाएको छ ।
प्रशासनले छिट्टै सबै पक्षबीच सहमति जुटाउनेतर्फ पहल जारी राखेको जनाएको छ ।