काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको भाउ सोमबार नयाँ रेकर्ड कायम गर्दै प्रतितोला दुई लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको मूल्य ४५ रुपैयाँले बढेर तीन हजार ८ सय ७० रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला चाँदी तीन हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि उच्च बिन्दुतर्फ उक्लिन थालेकाले त्यसको असर नेपाली बजारमा समेत देखिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिसँगै अमेरिकी डलरको अधिमूल्यन पनि नेपाली बजारमा सुनको मूल्य बढ्नुको मुख्य कारण बनेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्यलाई आधार मानेर भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनिमय दर तथा व्यवसायीको नाफा जोडेर भोलिपल्टको मूल्य तय गरिन्छ ।
नेपालमा सुनको मूल्य निर्धारणको जिम्मेवारी नेपाल सुनचाँदी व्यवसायी महासङ्घलाई दिइएको छ । २०६६ सालअघि नेपालमा खुला रूपमा सुन आयात गर्न पाइन्थ्यो । तर २०६६ सालपछि नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलमार्फत मात्रै सुन आयात गर्न पाइने व्यवस्था लागू गरेको थियो । त्यस समयमा वाणिज्य बैंकहरूले दैनिक १० किलोसम्म सुन आयात गर्न सक्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले समय–समयमा सुन आयातको कोटा परिमार्जन गर्दै आएको छ । हाल दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था रहेको छ । व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको अवस्था हेर्दा आगामी दिनमा सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।