सर्लाही प्रहरीले हरिवन नगरपालिका–३ स्थित चुरे क्षेत्रको झाडीभित्र लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्दा झाडीभित्र लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो ।
प्रहरीले जानकारी दिएका अनुसार रातो प्लास्टिकले बेरेका ठूला प्याकेट ९ वटा र साना प्याकेट १४ वटा गरी जम्मा २३ प्याकेट गाँजा बरामद गरिएको छ। बरामद गाँजाको तौल प्लास्टिकसहित ८६ किलो ५ सयग्राम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाँजा कसले र कुन उद्देश्यले लुकाएको हो भन्ने विषयमा अनुसन्धान जारी छ । बरामद लागुऔषधलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।