सप्तरी | दिन प्रतिदिन बढ्दो अत्यधिक चिसोको सामना गर्दै सप्तरीको राजविराज नगरपालिकाले आइतबार स्थानीय सर्वसाधारणका लागि निःशुल्क दाउरा वितरण गरेको छ ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहित कर्मचारीहरूले नगरपालिकाका सार्वजनिक स्थानहरूमा बिहानै दाउरा वितरण गर्दै सर्वसाधारणलाई चिसोबाट बच्न आग्रह गरे। कार्यवाहक प्रमुख परविनले बताएअनुसार, “जिल्लामा अत्यधिक जाडो बढेको अवस्थामा दाउराको अभावले कसैलाई कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले तत्काल राहत स्वरूप दाउरा वितरण गरिएको हो ।”
उहाँले थप भन्नुभयो, “कामसँगै सबैले न्यानो भएर बस्न आवश्यक छ। बजार, अस्पताल, कार्यालय आउजाउ गर्ने र स्थानीय सर्वसाधारणलाई यो दाउराले थोरै भए पनि जाडोबाट राहत मिल्नेछ ।”
सप्तरीमा अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन र संस्थाहरूले राहतका कदम चाल्दै आएका छन्। शनिबार नेपाली सेनाले र शुक्रबार डिभिजन वन कार्यालयले पनि दाउरा वितरण गरेका थिए ।
पछिल्लो तीन दिनदेखि राजविराजको अस्पताल, रूपनी रोड, बसपार्क, जनआन्दोलन चोक, गजेन्द्र चोक, तित्रीगाछी चोक, अदालत रोड जस्ता सार्वजनिक स्थानमा दाउरा बालिँदै आएको छ । स्थानीय सर्वसाधारणले यसलाई राहतको रूपमा अनुभव गर्दै आएको बताएका छन् । राजविराज–२ की नुनुजा खातुनले बताइनु भयो, “दाउराले थोरै भए पनि चिसोबाट जोगाउँछ, राहत महसुस भइरहेको छ ।”