मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परेका छ जनाकै हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकमध्ये दुई जनाको भने अझै पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमोमा सवार घाइते तीन जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा भारत बिहार राज्य पटनाका ४२ वर्षीय रजनिस कुमार, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल तथा भारत बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।
यस्तै, नाम, थर र वतन नखुलेका अन्दाजी ३६ वर्षीय र ४० वर्षीय पुरुषलाई गम्भीर चोट लागेको अवस्थामा उपचारका लागि हेटौँडा अस्पताल ल्याइए पनि चिकित्सकले आइतबार साँझ ७ः३५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा सुमो चालक हेटौँडा–४ कर्रा चोकका अन्दाजी ४५ वर्षीय गणेश थापा, हेटौँडा–४ का १२ वर्षीय अभ्यास लम्साल र रौतहटको चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया रिचा चौधरी रहेका छन् ।
शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूलाई हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आइतबार राति नै नयाँ मेडिकल कलेज भरतपुर पठाइएको हो ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तर्गत जुरिखेतमा आइतबार साँझ दुर्घटनामा परेको हो । सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वतर्फ रहेको छ ।