सर्लाहीको हरिवन नगरपालिका–१, लिचीटोलका विवेक परियार अहिले १७ वर्षका भए । उमेरले बालक भए पनि उनी आफूसहित चार सदस्यीय परिवारका एक्ला अभिभावक बनेका छन् । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ ।
पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी बोल्न नसक्ने तथा जन्मजात फरक क्षमताकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको सम्पूर्ण जिम्मेवारी विवेककै काँधमा छ ।
चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेक र उनकी बहिनी टुहुरा बने । मामाघरतर्फकी हजुरआमाको शरणमा हुर्किएका विवेकले गाउँकै आधारभूत विद्यालयमा कक्षा ३ सम्म पढे । तर जन्मदर्ता नभएकै कारण पढाइ निरन्तरता दिन सकेनन् ।
चुरेको काखमा करिब १० धुर ऐलानी जग्गामा टिनको सानो छाप्रो बनाएर बस्दै आएको परिवारसँग त्यो बाहेक अन्य कुनै सम्पत्ति छैन । बाल्यकालदेखि नै संघर्षमा हुर्किएका विवेकले गाउँकै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरेका थिए । अहिले उनी कुशल ट्र्याक्टर चालक बनेका छन् ।
तर नागरिकता तथा अन्य कागजात नहुँदा उनले सिकेको सीपसमेत प्रयोग गर्न पाएका छैनन् ।
“लाइसेन्स बनाउन पाए यही सीपको भरमा परिवार पाल्ने थिएँ,” विवेक भन्छन्, “कागजात नहुँदा सपना अधुरै रहने भयो ।”
विवेककी जिजुहजुरआमा अतिरुपाका अनुसार विवेकका बाबुको पनि अत्तोपत्तो छैन । केही समयअघि बाबु घर आएका भए पनि उनका पनि कुनै कागजात नभएको थाहा भएपछि फेरि हराएको उनले बताइन् । कागजात भएका आफन्त कोही नभएकाले दुई दाजुबहिनीको भविष्य अन्धकार बनेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
विवेककी बहिनी बिविका हाल हरिवन नगरपालिका–१ स्थित पटौना आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । विद्यालयले कक्षा ८ मा भर्नाका लागि जन्मदर्ता अनिवार्य गरेको छ । तर जन्मदर्ता कसरी बनाउने भन्नेबारे उनीहरू अनभिज्ञ छन् ।
“बहिनीले पनि मैले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने डर लाग्छ,” विवेकले पीडा पोख्दै भने ।
हालै परिवार बस्दै आएको सानो बाँससमेत जीर्ण भएर ढलेपछि उनीहरू छिमेकीको घरमा शरण लिएर बस्न बाध्य भएका छन् । पुरानो ठाउँमा ऋण गरेर भए पनि घर बनाउने सपना रहे पनि कागजात नभएकै कारण ऋण पाउने आशा नरहेको विवेक बताउँछन् ।
स्थानीय सुवास श्रेष्ठका अनुसार विवेक निकै इमानदार र मेहनती युवक हुन् ।
“कानुनी कागजात नहुँदा विवेक मात्र होइन, उनको भावी पुस्ता पनि अनागरिक बन्ने खतरा छ,” उनले चिन्ता व्यक्त गरे ।
यस विषयमा हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले कानुनी प्रक्रियाअनुसार जन्मदर्ता बनाउने पहल भइरहेको जानकारी दिए ।
“वडासचिवसँग समन्वय गरेर कानुनले दिएको दायराभित्र समाधान खोजिरहेका छौँ,” उनले भने ।