ग्रामीण भेगका पशुपालन कृषकलाई लक्षित गर्दै पर्साको ठोरी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
“स्वस्थ पशु, खुसी कृषक” भन्ने नाराका साथ एसोसिएसन अफ भेटेरिनरी प्र्याक्टिसनर पर्सा (AVP Parsa) को आयोजनामा उक्त कार्यक्रम गरिएको हो । ठोरी गाउँपालिका वडा नं. ५ अन्तर्गत बागमोर्चा टोलमा आयोजित शिविरमा ९४ वटा गाई–भैंसी, ५ सय ७६ वटा खसी–बाख्रा तथा पाठापाठी र ७ वटा कुकुर गरी कुल ६ सय ७७ वटा पशुहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष छत्रबहादुर शाह कानुको अध्यक्षतामा सम्पन्न शिविरमा स्वास्थ्य परीक्षणपछि आवश्यक परेका पशुहरूलाई जुकाको औषधि, मिनरल, क्याल्सियम, झाडापखाला रोक्ने औषधि तथा विभिन्न मलहम निःशुल्क रूपमा वितरण गरिएको थियो । कार्यक्रमले पशुपालक कृषकलाई ठूलो राहत पुगेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एभिपी पर्साका अध्यक्ष छत्रबहादुर शाह कानुले पशुपालनसम्बन्धी आधारभूत जानकारी दिँदै कृषकहरूलाई वैज्ञानिक र व्यवस्थित पशुपालनतर्फ लाग्न आग्रह गरेका थिए । उनले रोग लाग्न नदिन समयमै खोप, पोषणयुक्त आहार र नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्दै पशुपालनलाई आम्दानीको भरपर्दो स्रोत बनाउन सकिने बताएका थिए ।
अध्यक्ष कानुले एभिपी पर्सा आगामी दिनमा पनि ग्रामीण क्षेत्रमा यस्ता शिविर र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पशुपालक कृषकहरूका लागि संस्था चौबिसै घण्टा सहयोगका लागि तत्पर रहने बताएका थिए ।
स्थानीय कृषकहरूले यस्तो शिविरले पशु उपचारका लागि टाढा अस्पताल जानुपर्ने बाध्यता हटेको भन्दै आयोजककाे प्रशंसा गरेका थिए ।कार्यक्रममा वडा अध्यक्ष अष्ट लोपचान एभिपी पर्साका उपाध्यक्ष विजय पटेल, सचिव शिवशंकर ठाकुर, सदस्यहरू पनालाल शाह र दिपु शाह लगायतकाे उपस्थिति थियो ।