नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७ औँ स्मृति दिवसको अवसर पारेर पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ सवालहरू उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।
महासङ्घ धनुषा शाखाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम तथा श्रद्धाञ्जली सभा आयोजना गरेको हो । दुवै कार्यक्रमलाई पत्रकारहरूको वर्तमान अवस्था र शहिद पत्रकार उमा सिंहको बलिदानसँग जोडेर हेर्ने प्रयास गरिएको महासङ्घले जनाएको छ ।
बिहान महासङ्घ धनुषा शाखाको कार्यालय परिसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा धनुषा जिल्लाका ५० जना क्रियाशील पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको हाइटेक प्याथोलोजी ल्याबको प्राविधिक सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा रक्तचाप, मधुमेह, लिपिड प्रोफाइल तथा युरिन परीक्षण गरिएको जनाइएको छ ।
महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन साहले पत्रकारहरूको असुरक्षित कार्यपरिवेश, अनियमित कार्यतालिका र जाडो मौसमका कारण स्वास्थ्य जोखिम बढिरहेको उल्लेख गर्दै राज्यस्तरबाट पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए । उनले महासङ्घको पहलमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसैगरी, साँझ महासङ्घ भवन अगाडि आयोजित श्रद्धाञ्जली सभामा शहिद पत्रकार उमा सिंहको बलिदान र प्रेस स्वतन्त्रतामाथि भएका आक्रमणहरूबारे गम्भीर समीक्षा गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, केन्द्रीय सदस्य राजेश कर्ण, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, सचिव हदिश खुद्दार, वरिष्ठ पत्रकार बी.एम. खनाल, रामभरत साह, रिन्कु मिश्र, अशोक रौनीयार, मनिका झा, अवधेश कामत लगायतको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले शहिद पत्रकार उमा सिंहको हत्या अझै पनि न्यायिक निष्कर्षमा नपुगेको स्मरण गराउँदै पत्रकार सुरक्षाका सवालमा राज्य गम्भीर नदेखिएको आरोप लगाए । उनले उमा सिंहलाई निडर पत्रकारिता, सत्यको खोज र सामाजिक न्यायका प्रतीकका रूपमा स्मरण गरे ।