आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा लगानी सहकार्य विस्तारका उद्देश्यसहित कतारका उद्योगी व्यवसायीको प्रतिनिधिमण्डल नेपाल आएको छ । नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको टोली नेपाल भ्रमणमा आएको हो ।
टोलीले नेपालका उद्योगी व्यवसायी तथा सरकारी अधिकारीहरूसँग आर्थिक विकास, पर्यटन प्रवर्द्धन र आपसी सहकार्य विस्तारका विषयमा छलफल गरेको छ ।
सिंहदरबारमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बरका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।
भेटवार्तामा नेपाल–कतारबीच आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको छ । विशेषगरी दुई देशबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो ।
भेटका क्रममा मन्त्री सिन्हाले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले कतार एयरवेजको भूमिका महत्वपूर्ण हुने बताए ।
‘नेपाल सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध छ । कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न र कनेक्टिभिटी बढाउन आवश्यक सहजीकरण गर्न सरकार तयार छ,’ मन्त्री सिन्हाले भने ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतारी निजी क्षेत्रको चासो रहेको बताए । उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने उनको विश्वास छ ।
परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पनि लगानी सहजीकरण, द्विपक्षीय लगानी प्रवर्द्धन, पर्यटन विकास तथा भावी आर्थिक सहकार्यका विषयमा विचार–विमर्श भएको थियो। सचिव अमृतबहादुर राईले नेपाल ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको बताए ।
सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणपछि दुई देशबीचको आर्थिक सहकार्य थप सुदृढ हुँदै गएको पनि उनले उल्लेख गरे । नेपालका लागि कतारका राजदूत अन्सारीले नेपाल–कतार सम्बन्ध मित्रतापूर्ण र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै आर्थिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न कतार इच्छुक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रमार्फत आर्थिक कूटनीति सुदृढ गर्नुपर्नेमा जोड दिँदै जलविद्युत्, पर्यटन, होटल तथा सेवा क्षेत्रमा कतारी लगानीका लागि राम्रो अवसर रहेको बताए ।
कतार चेम्बरका प्रतिनिधिले नेपालमा लगानी वातावरण, कानुनी संरचना तथा निजी क्षेत्रको भूमिकाबारे जानकारी लिएको जनाउँदै सम्भावित परियोजनामा सहकार्य अगाडि बढाउने इच्छा व्यक्त गरेका छन् ।
कतारी र नेपाली उद्योगी व्यवसायीको टोलीले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग भेट गरेको छ । मंगलबार अर्थमन्त्री रामेश्वर खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।