धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी भइरहेको छ ।
काठमाडौंको जन्दादेवी सोलार प्रालिले ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने योजना अन्तर्गत ८० बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएको छ। कम्पनीले किसानहरूसँग वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ भाडा दिने र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता गरेको छ । संघीय सरकार र स्थानीय वडा कार्यालयले जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरेका छन् ।
तर, किसानहरू सोलार प्लान्ट स्थापनाको विषयमा विभाजित छन् । कतिपय किसानहरू आँप खेतीमा हुने क्षतिका कारण बाध्य भएर जग्गा दिनु परेको बताउँछन्। अर्कोतर्फ, केही किसानहरू भने आँप खेतीको पहिचान बचाउन सोलार प्लान्टको विरोध गरिरहेका छन् ।
कम्पनीका प्रतिनिधि अभिषेक पराजुलीका अनुसार, ढल्केबर सब स्टेशन नजिकका कारण अन्यत्र एकै ठाउँमा आवश्यक ८०–८५ बिघा जग्गा नपाइएकाले आँप पकेट क्षेत्रका किसानहरूको सहमतिमा त्यहाँ प्लान्ट स्थापनाको तयारी गरिएको हो ।