जनकपुरधाम । मधेश प्रदेशमा मानसिक यातनाबाट पीडित हुने बिरामीहरूको संख्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ । प्रादेशिक अस्पताल, जनकपुरधाममा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले दोस्रो चौमासिक समन्वय बैठकका क्रममा उक्त विवरण सार्वजनिक गरेको हो ।
बैठकमा प्रस्तुत तथ्यांकअनुसार पछिल्लो नौ महिनामा केन्द्रमा आएका कुल ८८१ जना पीडितमध्ये करिब ५० प्रतिशत मानसिक यातनाबाट प्रभावित रहेका छन् । ओसीएमसीमा २०८२ साउनदेखि चैतसम्म सेवा लिन आएका ती पीडितमध्ये २२ जना पुरुष र ८५९ जना महिला रहेका छन् ।
उक्त अवधिमा सबैभन्दा बढी ४०१ जना मानसिक यातनाका पीडित केन्द्रमा आएका छन्। यसमध्ये १३ जना पुरुष र ३८८ जना महिला रहेका छन् । त्यसैगरी अधिकार तथा स्रोतबाट वञ्चित भएका २८३ जना पीडितमध्ये आठ जना पुरुष र २७५ जना महिला छन् ।
रुढीवादी प्रथा, दाइजो, भ्रूणहत्या तथा जातीय विभेदबाट पीडित हुने २२ जना सबै महिला रहेका छन्। शारीरिक चोटपटकका कारण सेवा लिन आउने ७९ जना पनि सबै महिला रहेको तथ्यांकमा उल्लेख छ ।
यौनजन्य दुर्व्यवहारका ८४ जना पीडितमध्ये ८३ जना महिला र एक जना पुरुष रहेका छन् भने जबरजस्तीकरणीका १२ जना महिला पीडित रहेका छन् ।
ओसीएमसीमा सेवा लिन आउनेमध्ये सबैभन्दा बढी १९ देखि ४९ वर्ष उमेर समूहका रहेका छन्। समीक्षा अवधिमा ३९१ जनालाई थप उपचारका लागि अस्पतालमा रिफर गरिएको छ भने १२ जनालाई प्रहरीमा पठाइएको छ ।
त्यसैगरी १७ जनालाई सुरक्षित आवास (सेफ हाउस), १५ जनालाई कानुनी सहायताका लागि वकिलसमक्ष, ७४ जनालाई मानसिक परीक्षणका लागि, आठ जनालाई पुनर्स्थापनाका लागि तथा ५०६ जनालाई मनोपरामर्श सेवाका लागि पठाइएको केन्द्रले जनाएको छ ।
जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा बढी ५१७ जना पीडित आएका छन् । त्यसपछि महोत्तरीका ६०, सिरहाका तीन, सप्तरी र सर्लाहीका दुई–दुई जना तथा झापा, पर्सा, बारा, कास्की, सिन्धुली, रौतहट, काठमाडौं, मकवानपुर र नुवाकोटका एक–एक जना रहेका छन् ।
गत वर्ष सोही अवधिमा १,५७२ जना पीडित ओसीएमसीमा आएका थिए। यस आधारमा यस वर्ष लैङ्गिक हिंसासहितका सामाजिक अपराधमा केही कमी आएको दाबी गरिएको छ ।
कार्यक्रममा ओसीएमसी सञ्चालनमा देखिएका चुनौतीहरू पनि औँल्याइएको थियो । जनशक्ति अभाव, कर्मचारीको इच्छाशक्ति कमी, प्रभावित बाहेक अन्यले समेत निःशुल्क सेवाको अपेक्षा गर्नु तथा समयमा उजुरी नआउँदा प्रमाण सङ्कलनमा कठिनाइ हुनु प्रमुख समस्या रहेको जनाइएको छ ।
प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन सिंहका अनुसार जनशक्ति अभाव पूर्तिका लागि ६० जना कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको छ र वैशाख ७ गते परीक्षा सञ्चालन हुनेछ। साथै मानसिक स्वास्थ्य सेवाको विस्तारका लागि पाँच शय्या थप गर्ने तयारी भइरहेको र ओसीएमसीमार्फत आउने बिरामीका लागि तीन महिनासम्म पुग्ने औषधि मौज्दात राख्ने व्यवस्था गरिएको छ ।