धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनकारीहरूले शुक्रबार बिहान जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर का प्रमुख राजाराम यादव ले जानकारी छन् । ।
नगरपालिकाले गत सोमबार सूचना जारी गर्दै गृह मन्त्रालय को २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नं. १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न आग्रह गरेको थियो ।
साथै, तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा संरचना हटाइने चेतावनीसमेत नगरपालिकाले दिएको छ ।
सूचनापछि प्रभावित स्थानीयवासीले वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै आन्दोलन थालेका हुन् । स्थानीयवासीले पुनःस्थापनाको सुनिश्चितता बिना बस्ती हटाउने निर्णय अमानवीय भएको बताएका छन् ।