मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा गएराति सवारी दुर्घटना भएको छ । सोमबार राति करिब ११:१० बजे काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको माइक्रो बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ९ जना भारतीय नागरिक घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटना लगत्तै प्रहरी चौकी खानिखेत र सिस्नेरीबाट खटिएको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । चालकसहित ११ जना सवार उक्त माइक्रो बसमा ९ जना भारतीय र २ जना नेपाली नागरिक रहेका थिए ।
प्रहरी सहायक निरीक्षक मनोजकुमार यादव र रामवली साहको नेतृत्वमा खटिएको टोलीले सबै घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ ।