राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सामा सञ्चालन गरिरहेको सङ्गठन विस्तार अभियान भित्र आन्तरिक विवाद र गुटगत गतिविधि देखिन थालेको छ ।
पार्टीभित्र नेतृत्व र वर्चस्वका विषयमा प्रतिस्पर्धा चुलिँदा आधा दर्जनभन्दा बढी समूह सक्रिय बनेको स्थानीय स्रोतहरूले दाबी गरेका छन् । पार्टीले देशभर सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत सदस्यता वितरण, वडा भेला तथा वडा अधिवेशनहरू सञ्चालन गर्दै आएको छ । तर पर्सामा सो अभियान अपेक्षित रूपमा एकीकृत ढङ्गले अघि बढ्न सकेको छैन् । विभिन्न तहका नेताहरूबीच समन्वय अभाव र आन्तरिक शक्ति सङ्घर्षका कारण वडा तहका कार्यक्रमहरू प्रभावित भएको आरोप समेत लागेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही वडा भेलाका तस्बिर तथा भिडियोहरूमा अपेक्षाकृत कम उपस्थिति देखिएपछि पार्टीको स्थानीय जनाधारबारे प्रश्न उठ्न थालेका छन् ।यस विषयलाई लिएर अन्य राजनीतिक दलका स्थानीय नेताहरूले रास्वपाको सङ्गठनात्मक क्षमता र प्रभावमाथि टिप्पणी गर्न थालेका छन् । स्थानीय एक नेताका अनुसार विगतको निर्वाचनमा पुराना दलको सङ्गठन बलियो भए पनि मत रास्वपातर्फ गएको देखिएको थियो । तर हाल भइरहेका भेला तथा कार्यक्रममा अपेक्षित सहभागिता नदेखिनु चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ ।
दलभित्र भने निर्वाचनअघि सङ्गठन निर्माणमा सक्रिय समूह र पछि जोडिएका नेताहरूबीच मतभेद देखिएको छ । दुवै पक्षले आफूहरूको योगदान कै कारण पार्टी बलियो भएको दाबी गर्दै आएका छन्, जसका कारण वडा तहका कार्यक्रमहरूमा विवाद उत्पन्न भएको बताइन्छ ।
रास्वपाका स्थानीय नेताहरूका अनुसार केही वडामा अधिवेशन सम्पन्न भइसकेका छन् भने बाँकी स्थानमा तदर्थ समितिमार्फत संरचना निर्माणको काम भइरहेको छ । त्यसपछि जिल्ला अधिवेशनको तयारी अघि बढाइने योजना रहेको छ । विभिन्न समूहकै कारण सङ्गठनभित्र किचलो बढेको आरोप केही नेताहरूले लगाएका छन् ।
उनीहरूका अनुसार वडा भेलामा प्रतिनिधि चयन र नेतृत्व छनोटलाई लिएर असन्तुष्टि देखिएको छ ।