दुई दशकअघि वीरगंजमा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले संकलन गरिएको रकमको उपयोग हुन नसकेको भन्दै सहयोगकर्ता तथा हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक–कर्मचारी निराश बनेका छन्। विश्वविद्यालय स्थापनाका लागि गठित समितिको नेतृत्व गरेका तत्कालीन क्याम्पस प्रमुख भगवानप्रसाद यादव रकम निकासीसम्बन्धी अनुसन्धानमा तानिएपछि उनीहरूको चासो थप बढेको छ।
विश्वविद्यालय स्थापना अभियानमा हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीले एक दिनको तलब सहयोग गरेका थिए। पर्साका तत्कालीन ८२ गाविसमध्ये धेरै, बारा–पर्साबाट निर्वाचित तत्कालीन संविधानसभा सदस्य, उद्योगी–व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाले समेत आर्थिक सहयोग गरेका थिए। अभियानबाट २ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको बताइएको छ।
वीरगंज उद्योग वाणिज्य संघले मात्रै ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। तर, विश्वविद्यालयका लागि जग्गा खरिद भएपछि मात्र रकम उपलब्ध गराउने निर्णय भएकाले संघले रकम हस्तान्तरण नगरेको संघका पूर्वअध्यक्ष प्रदीप केडियाले बताए।
त्यतिबेला विश्वविद्यालय सञ्चालनका लागि पर्साको गण्डक क्षेत्रनजिक रहेको चिनी मिलको जग्गा प्रयोग गर्ने विषयमा छलफल भएको थियो। तर, जग्गा व्यवस्थापन हुन नसकेपछि विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्न सकेन।
दुई दशकपछि रकम निकासीबारे अनुसन्धान
विश्वविद्यालय स्थापना अभियानका क्रममा संकलित रकम वीरगंजस्थित कुमारी बैंकमा खोलिएको खातामा राखिएको थियो। अहिले सोही खाताबाट रकम निकासी भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार वीरगंज विश्वविद्यालयको नाममा कुमारी बैंकको वीरगंज शाखामा रहेको खाताबाट तत्कालीन हरिखेतान क्याम्पस प्रमुख यादवले चेकमार्फत रकम निकालेको विषय अनुसन्धानमा छ। कीर्ते गरी रकम निकाली व्यक्तिगत रूपमा अपचलन गरेको आरोपसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीआईबीले अनुसन्धानको फाइल जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ। पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बैंकसँग आवश्यक विवरण मागेर अनुसन्धान भइरहेको बताए। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय पर्साले पनि गत साउन १ गते कुमारी बैंकको वीरगञ्ज शाखालाई विश्वविद्यालयको खातासम्बन्धी विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो। बैंकले साउन ११ गते दिएको जवाफमा वीरगंज विश्वविद्यालयको नाममा रहेको चल्ती खाताबाट यादवले चेकमार्फत रकम झिकेको विवरण उपलब्ध गराएको छ।
रकम निकासीसम्बन्धी आरोपबारे यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले विस्तृत रूपमा बोल्न चाहेनन्। “भेटेर कुरा गरौँला” भन्दै फोन काटेका उनी त्यसपछि सम्पर्कमा आउन चाहेनन् ।
यसबीच, विश्वविद्यालय स्थापना अभियानमा योगदान गरेका शिक्षक तथा कर्मचारीले आफूहरूले स्थानीय शिक्षाको विकास र वीरगंजको शैक्षिक पहिचान विस्तार हुने अपेक्षासहित सहयोग गरेको बताएका छन्। तर, दुई दशक बितिसक्दा पनि विश्वविद्यालय स्थापना नभएको र संकलित रकमसमेत अनुसन्धानको विषय बनेपछि उनीहरू निराश बनेका छन्।
हाल हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख रहेका किशोरी राय पनि त्यतिबेला क्याम्पसमा अध्यापन गर्थे र अभियानमा एक दिनको तलब सहयोग गरेका थिए। उनका अनुसार वीरगंजमा विश्वविद्यालय स्थापना हुने विषयलाई स्थानीय शिक्षाको विकाससँग जोडेर हेरिएको थियो।
“वीरगञ्जमा विश्वविद्यालय बन्ने कुरा वीरगञ्जकै शानको विषय थियो। स्थानीय शिक्षाको विकासमा पनि यसले ठूलो योगदान गर्छ भन्ने लागेको थियो,” रायले भने, “त्यसैले हामीले उत्साहित भएर सहयोग गरेका थियौँ। तर, यति लामो समयसम्म विषय अलमलमा रहनु र अहिले रकमको विषयमा अनुसन्धानसम्म हुनुले हामी निराश भएका छौँ।”
विश्वविद्यालय स्थापनाको उद्देश्यले उठाइएको रकम कहाँ, कसरी र कति प्रयोग भयो भन्ने विषयमा अनुसन्धानबाट थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।