प्रहरीले बारा र पर्साका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५, डुमरवाना टोलबाट ११० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित भारतको बिहार घर भई हाल जीतपुरसिमरा–७ मा बस्ने २० वर्षीय आकाश कुमार गुप्ता शुक्रबार राति पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, पर्साको वीरगंज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट १ ग्राम ४२० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित सर्लाहीको हरिवन नगरपालिका–४, घिरकौल टोलका ३२ वर्षीय विजय महतो शनिबार बिहान पक्राउ परेका छन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।