पर्सा जिल्लामा भारतसँगको खुला सीमाका कारण लागूऔषध तस्करी तथा सेवनकर्ताको संख्या बढ्दै गएको देखिएको छ ।
पर्सा प्रहरीले वैशाख महिनामा मात्रै ३१ जना लागूऔषध तस्करलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सो अवधिमा ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको छ ।
गत शनिबार राति वीरगंज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुरसिमरा–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्तालाई ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू भेडियाहीबाट मिलनचोकतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका थिए ।
त्यसअघि २५ वैशाखमा वीरगंज–१६ स्थित शंकाराचार्य गेट चेकपोष्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका चार जनालाई लागूऔषधसहित पक्राउ गरिएको थियो । ६ सय मिलिग्राम खैरो हेरोइनसहित २७ वर्षीय विकासकुमार साह र २३ वर्षीय कविन पराजुली, साथै ५ ग्राम खैरो हेरोइन र ०.२५ मिलिग्राम सेतो हेरोइनसहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीय पूजा जिम्बा पक्राउ परेका थिए ।
त्यसको भोलिपल्ट पनि प्रहरीले ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय अञ्जन थापा र १९ वर्षीय रोमश बम्जन तथा ५३ वटा प्रतिबन्धित ट्याब्लेटसहित ३७ वर्षीय राजु बनियाँ र ५२ वर्षीय अलिहदन मियाँलाई नियन्त्रणमा लिएको थियो ।
पर्सा प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका तस्कर पक्राउ परिरहेको जनाएको छ ।
प्रहरीका अनुसार वीरगंज कारागारमा रहेका कैदीबन्दीमध्ये झण्डै आधा लागूऔषधसम्बन्धी मुद्दाका छन् । पछिल्लो समय महिलाको संलग्नता पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार लागूऔषध सेवनकर्ताहरू भारतमा गएर सेवन गर्ने र नेपाल ल्याउने प्रवृत्ति बढेकाले नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।
खुला सीमा र वैज्ञानिक पहिचान प्रणालीको अभावका कारण तस्करी नियन्त्रणमा थप चुनौती देखिएको प्रहरीको भनाइ छ ।