सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै यो लक्ष्य अघि सारिएको जानकारी दिए ।
उनका अनुसार सो अवधिमा २०० वटा सडक पुल निर्माण गरिनेछ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना छ ।
यसै आर्थिक वर्षभित्र नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साथै अर्को दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए ।
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै द्रुतमार्ग (फास्ट ट्र्याक) का लागि ४० पुल र ४ सुरुङ निर्माणसहित १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रुपैयाँ, कर्णाली राजमार्गका लागि १ अर्ब रुपैयाँ तथा मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले सडक सञ्जाल विस्तार, गुणस्तर सुधार र राष्ट्रिय यातायात पूर्वाधारलाई सुदृढ बनाउने उद्देश्यसहित यी कार्यक्रम अघि सारेको जनाएको छ ।