काठमाडौं । ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी एक युवतीप्रति अश्लील हर्कत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपितलाई सोमबार इमाडोलबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाजुरा स्थायी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनी शिक्षा क्षेत्रमा अधिकृत तहका कर्मचारी (शिक्षा अधिकृत) हुन् भने हाल रक्षा मन्त्रालयमा कार्यरत रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रका अनुसार आइतबार साँझ भएको घटनाबारे प्रहरीले सोमबार जानकारी पाएलगत्तै खोजी अभियान सुरु गरेको थियो। अनुसन्धानका क्रममा भट्टलाई इमाडोलबाट पक्राउ गरिएको हो ।
प्रहरीले घटनापछि पीडित युवतीसँग पनि सम्पर्क गरेको जनाएको छ। एसपी मिश्रका अनुसार पीडित औपचारिक जाहेरी दिन प्रहरी कार्यालय आउने क्रममा रहेकी छन् । जाहेरी दर्तापछि आरोपितविरुद्ध प्रचलित कानुनअनुसार थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
आइतबार साँझ करिब ६:३० बजे पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमा घटनासम्बन्धी भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा आरोपितले सार्वजनिक स्थानमा अनुचित र अश्लील व्यवहार गरेको देखिएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो ।
घटनाका क्रममा युवतीले तत्काल प्रतिकार गरेको भिडियो पनि सार्वजनिक भएको छ । सार्वजनिक स्थानमा हुने यस्ता दुर्व्यवहारविरुद्ध साहसपूर्वक प्रतिरोध गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले उनको प्रशंसा गरेका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।