निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा निर्वाचन व्यवस्थापनमा थप चुनौती सिर्जना भएको निर्वाचन आयोगले जनाएको छ ।
शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले यस्तो बताउनुभएको हो ।
उहाँका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा तथा सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचनाका चुनौतीलाई सम्बोधन गर्न आवश्यक भए पनि निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण नहुँदा समस्या देखिन सक्ने अवस्था छ ।
भट्टराईले निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले देशभरका सबै मतदान केन्द्रको भौगोलिक अवस्थिति (जिओ लोकेसन) स्पष्ट भइसकेको र भू–सूचना प्रणालीसमेत अद्यावधिक गरिएको जानकारी दिनुभयो । अब यसलाई थप स्तरीकरण गरी मतदान केन्द्रको पूर्वाधार अवस्थासमेत मूल्याङ्कन गर्न सकिने गरी काम भइरहेको उहाँको भनाइ छ ।
त्यस्तै, निर्वाचनका लागि आवश्यक स्रोतसाधन र शान्ति सुरक्षाको व्यवस्थापनमा संघीय सरकारमाथि निर्भरता बढी रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहसँगको समन्वय र मतदाता शिक्षालाई थप व्यवस्थित बनाउन टास्क फोर्स परिचालनको रणनीति रहेको बताउनुभयो ।
आयोगले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरेको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कन गर्दा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको भट्टराईले जानकारी दिनुभयो ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन सोचसहित चौथो पञ्चवर्षीय रणनीतिक योजना तयार गरिएको आयोगले जनाएको छ ।