वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिबाना तिर्न बाँकी रहेका व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई एक महिनाभित्र रकम दाखिला गर्न निर्देशन दिएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि जरिबाना गरिएका तर हालसम्म रकम नबुझाएका व्यवसायीलाई यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार उपभोक्ताको हकहित तथा अधिकार संरक्षण र स्वच्छ प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि गरिएको नियमित तथा आकस्मिक बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम विभिन्न व्यवसायीलाई जरिबाना गरिएको थियो । तर, कतिपय व्यवसायीले हालसम्म जरिबाना रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको प्रमाण विभागमा पेस गरेका छैनन् ।
विभागले जरिबाना तिर्न बाँकी रहेका सबै व्यवसायीलाई सूचना पहिलोपटक प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको रकम सरकारी राजस्व खातामा जम्मा गरी सक्कल भौचर विभागमा बुझाउन भनेको छ ।
जरिबाना रकम हिमालयन बैंकको नयाँ बानेश्वर शाखामा राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३०७०५३५०१ प्रयोग गरी दाखिला गर्नुपर्ने विभागले जनाएको छ ।
तोकिएको समयभित्र जरिबाना नबुझाए व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ । पहिलो चरणमा सम्बन्धित पसल, फर्म वा प्रतिष्ठानमा सिलबन्दी गरी व्यावसायिक कारोबार रोक्का गरिनेछ ।
त्यसैगरी सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेज गर्न तथा अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र र अनुमतिपत्र निलम्बन वा खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाइने विभागले जनाएको छ ।
त्यस्तै, जरिबाना रकम सरकारी बाँकीसरह असुलउपर गर्न व्यवसायीको चलअचल सम्पत्ति तथा बैंक खाता रोक्का राख्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
जरिबाना रकम दाखिला गर्ने प्रक्रियाबारे थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट हेर्न वा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।