मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको करिब ७० प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारले कुल ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । अर्थ मन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यका अनुसार उक्त रकममध्ये आन्तरिक राजस्वबाट मात्रै ५ अर्ब ७६ करोड ५६ लाख २४ हजार रुपैयाँ सङ्कलन भएको छ ।
प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन शुल्कबाट १ अर्ब ७७ करोड ९५ लाख २२ हजार रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब २७ करोड ८० लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी सवारीचालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट ७९ करोड ५६ लाख २९ हजार रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ६३ लाख ९२ हजार रुपैयाँ र दहत्तर–बहत्तर बिक्रीबाट २० करोड १५ लाख ७३ हजार रुपैयाँ राजस्व प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश सरकारले राजस्व बाँडफाँटअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) बाट ८ अर्ब ८६ करोड ८५ लाख ६ हजार रुपैयाँ तथा अन्तःशुल्कबाट ३ अर्ब २० करोड ४३ लाख ९१ हजार रुपैयाँ प्राप्त गरेको छ ।संघीय सरकारबाट समानीकरण अनुदानअन्तर्गत ७ अर्ब ६ करोड १६ लाख ७८ हजार रुपैयाँ, सशर्त चालु अनुदानतर्फ २ अर्ब १७ करोड २७ लाख ७२ हजार रुपैयाँ तथा सशर्त पुँजीगत अनुदानतर्फ १ अर्ब ५६ करोड ३० लाख ४० हजार रुपैयाँ प्राप्त भएको तथ्याङ्क अधिकृत आचार्यले जानकारी दिए ।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशकुमार झाका अनुसार आर्थिक तरलता, घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्रीमा आएको कमी, साथै गत भदौ २३ र २४ गते भएको जनआन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने विभिन्न सरकारी निकायमा पुगेको क्षतिका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो ।