लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण नौ प्रमुख राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ ।
बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ । त्यस्तै, काठमाडौं–हेटौँडा कान्ति लोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडकखण्डमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहे पनि जवाङखोलास्थित सडकखण्ड भने पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
लगातार वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम अझै कायम रहेको जनाउँदै नेपाल प्रहरीले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।