वीरगंजबाट प्रकाशित प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतीक दैनिकको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पुर्याएको योगदानको कदर गर्दै ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतीक प्रकाशन समूहको ४०औँ वार्षिकोत्सवका अवसरमा आगामी भदौ १ गते आयोजना हुने समारोहमा गौतमलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।
यसैगरी, प्रतीक दैनिकले गत वर्षदेखि प्रदान गर्न थालेको स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अर्जुन चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । १५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार पनि वार्षिकोत्सव समारोहकै अवसरमा प्रदान गरिनेछ । पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मी र व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले प्रतीक दैनिकले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ ।
यसै क्रममा नियमित स्तम्भ लेखनमार्फत प्रतीक दैनिकमा योगदान पुर्याउँदै आएका स्तम्भकार राजेन्द्र कोइरालालाई स्तम्भकार पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै, प्रतीक दैनिकका ठोरी संवाददाता चिरञ्जीवी सापकोटा र सहायक मेसिन अपरेटर विजय श्रेष्ठलाई पनि वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिने भएको छ ।
आगामी भदौ १ गते आयोजना हुने ४०औँ वार्षिकोत्सव समारोहमा विभिन्न पुरस्कार तथा सम्मान वितरण गरिनुका साथै प्रतीक दैनिकको विगत, वर्तमान र आगामी योजनाबारे समेत चर्चा गरिने जनाइएको छ ।
प्रतीक दैनिकले प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा पत्रकारिता तथा सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।