लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार जितेन्द्र साह वीरगंज सिटीको प्रधानसम्पादकको जिम्मेवारी सम्भाल्नु भएको छ ।
२०५८ सालदेखि स्थानीय पत्रपत्रिकामार्फत पत्रकारिता सुरु गर्नुभएका साहले राष्ट्रियस्तरका पत्रपत्रिका तथा एफएम रेडियोमा समेत काम गरिसक्नुभएको छ । उहाँले २०६४ सालदेखि इमेज टेलिभिजनबाट टेलिभिजन पत्रकारिता सुरु गर्नुभएको थियो । हाल उहाँ प्राइम टेलिभिजनमा निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
साहले स्थानीयस्तरमा प्रकाशित न्यू पर्सा दैनिकको प्रकाशक तथा सम्पादकको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ । विशेषगरी खोजमूलक तथा अनुसन्धानात्मक समाचारमा उहाँको लामो अनुभव रहेको छ । उहाँलाई वीरगंज सिटी डटकमका प्रकाशक जियालाल साहले स्वागत गर्नुभएको थियो ।
वीरगंज सिटीको प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्दै साहले आफ्नो पत्रकारिताको अनुभव र खोजमूलक समाचारसम्बन्धी दक्षतालाई थप निखार्दै वीरगंज तथा मधेशका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ ।
उहाँले वीरगंज सिटीलाई तथ्यमा आधारित, जिम्मेवार र खोजमूलक पत्रकारिताको माध्यमका रूपमा थप सशक्त बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।