पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्ग हुँदै ८७ हजारभन्दा बढी एलपी ग्यास सिलिण्डर काठमाडौं भित्र्याइएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरी ८७ हजार ८ सय ७७ वटा सिलिण्डर काठमाडौं ल्याएका हुन् ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४ सय ९४, भदौ १९ गते ३४ हजार १ सय ३४ र भदौ २० गते २९ हजार २ सय ४९ वटा ग्यास सिलिण्डर उपत्यका भित्रिएका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गरिरहेको जनाएको छ ।
भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए । त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा रिफिल गरिएका ग्यास सिलिण्डर काठमाडौं भित्र्याउने व्यवस्था गरेको हो ।
ग्यासको आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत रिफिलिङ तथा ढुवानी नियमित गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको निगमले जनाएको छ ।