पर्साको जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक चलखेल भएको आरोप लागेको छ । जिराभवानी गाउँपालिकाका युवा समाजले शिक्षक नियुक्तिका लागि परीक्षार्थीसँग रकम लेनदेन भएको दाबी गर्दै निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनी कारबाही गर्न माग गरेको छ ।
जिराभवानी गाउँपालिका–स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्तामा निम्न माध्यमिक तह (नि.मा.वि.) राहत करार शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालन गरिएको थियो । परीक्षार्थीहरूले सम्बन्धित निकायमा दिएको निवेदनमा विद्यालयका प्रधानाध्यापक खेमराज प्रसाद महतोले परीक्षा हुनुभन्दा करिब तीन महिनाअघि एक परीक्षार्थीसँग शिक्षक नियुक्तिका लागि ६ लाख रुपैयाँ लिएको दाबी गरिएको छ ।
यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक महतोबाट समेत १ लाख रुपैयाँ रकम लिइएको जानकारी आफूहरूले पाएको जिराभवानी गाउँपालिकाका युवा समाजले जनाएको छ । शिक्षक नियुक्तिमा आर्थिक लेनदेन भएको दाबी गर्दै युवा समाजले नियुक्ति प्रक्रिया प्रभावित हुन सक्ने भन्दै छानबिनको माग गरेको हो ।
युवा समाजले दिएको निवेदनमा शिक्षक नियुक्तिका क्रममा रकम लिइएको वा नलिइएको विषयमा अनुसन्धान गर्न, सम्भावित आर्थिक कारोबारको विवरण परीक्षण गर्न तथा आरोप पुष्टि भएमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । साथै, परीक्षाको निर्णय प्रक्रिया, उत्तरपुस्तिका, मूल्याङ्कन प्रक्रिया तथा नियुक्तिसँग जोडिएका आर्थिक कारोबारसमेत निष्पक्ष रूपमा छानबिन गर्न माग गरिएको छ ।
यसैगरी, जिराभवानी गाउँपालिका–३ स्थित बितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा पनि राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक लेनदेन भएको आरोप लगाइएको छ । स्रोतका अनुसार माध्यमिक तह राहत नेपाली विषयको करार शिक्षक नियुक्तिका क्रममा ७ लाख रुपैयाँसम्म रकम लेनदेन भएको दाबी गरिएको छ ।
उक्त रकम विद्यालयका प्रधानाध्यापक रामाशंकर प्रसाद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम राय थारु, गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रतिनिधिबीच बाँडफाँट भएको स्रोतको दाबी छ। तर, यस आरोपलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाण भने सार्वजनिक भएको छैन ।
यता, जिराभवानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फ्यूयालले शिक्षक नियुक्तिमा आर्थिक लेनदेन भएको सम्बन्धमा गाउँपालिकाको कार्यालयमा कुनै निवेदन वा उजुरी नआएको बताएका छन् ।
फ्यूयालले प्रमाणबिना अनुमानका आधारमा आरोप लगाउन नहुने बताउँदै आर्थिक लेनदेन भएको तथ्य तथा प्रमाण फेला परे सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने बताएका छन् । आफूलाई त्यस्तो गुनासो प्राप्त नभएको उनको भनाइ छ ।
शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको आरोपबारे निष्पक्ष छानबिन भए मात्र आरोपको वास्तविकता बाहिर आउने र योग्य उम्मेदवार छनोटको प्रक्रिया सुनिश्चित हुने युवा समाजको माग छ ।