चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा निगरानी बढाएका सरकारी निकायले बाराको निजगढ र कलैयामा गरेको संयुक्त बजार अनुगमनका क्रममा पाँच व्यवसायीलाई कुल एक लाख पाँच हजार रुपियाँ जरिवाना गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वीरगन्जका प्रमुख सुरेशकुमार सिंहको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य सामग्री तथा मिठाई बनाउन प्रयोग गरिने सामग्री फेला पारेपछि जफत गरी नष्ट गरेको छ ।
बजारमा दैनिक उपभोग्य वस्तुको माग बढिरहेका बेला गरिएको अनुगमनले खाद्य सामग्रीको म्याद, गुणस्तर र भण्डारणमा व्यवसायीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ । चाडपर्वका समयमा उपभोक्ताले खरिद गर्ने खाद्यान्न, मिठाई तथा दुग्धजन्य पदार्थको गुणस्तर सुनिश्चित गर्न अनुगमन तीव्र पारिएको सम्बन्धित निकायले जनाएका छन् ।
निजगढमा गरिएको अनुगमनका क्रममा निजगढ नगरपालिका–९ स्थित निसा ट्रेडर्स किराना थोक पसललाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ । त्यस्तै, निजगढ नगरपालिका–८ स्थित तामागढी दुग्ध उद्योग र राधाकृष्ण डेरी उद्योगलाई जनही २० हजार रुपियाँका दरले जरिवाना गरिएको छ ।
यसैगरी, कलैया बजारमा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जले गरेको छड्के अनुगमनका क्रममा विकास जेनरल स्टोर्सलाई पाँच हजार र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपियाँ जरिवाना गरेको छ ।
विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेको थियो । त्यस्तै, माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग गरिने खिराको बियाँ र केवरा वाटर म्याद गुज्रिएको अवस्थामा भेटिएको थियो । त्यहाँ गुलाबजलसमेत फेला परेको अनुगमन टोलीले जनाएको छ ।
म्याद गुज्रिएका सामग्री नष्ट गरिएको आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जका प्रमुख सुनिल चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ता संरक्षण ऐनका सम्बन्धित प्रावधानअनुसार दुवै पसललाई जरिवाना गरिएको हो । यसअघि पनि माँ अन्नपूर्ण स्वीट्सलाई अनुगमनका क्रममा ५० हजार रुपियाँ जरिवाना गरिएको थियो ।
कलैयाकै जय महारानी किराना भण्डारमा म्याद गुज्रिएको १०० ग्रामको एक प्याकेट मसला फेला परेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले कलैयाका न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र माँ तारा स्वीट्सलगायत १० वटा पसलको निरीक्षण गरेको थियो । टोलीले व्यवसायीलाई सामान खरिद तथा बिक्री गर्दा म्याद र लेबल जाँच गर्न, म्याद गुज्रिएका सामग्री बिक्रीयोग्य वस्तुबाट अलग राख्न तथा पसलमा सरसफाइ कायम गर्न निर्देशन दिएको छ ।
उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई नियमित रूपमा निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ ।