१. मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए सामूहिक राजीनामा
मधेश प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा मोहम्मद समीर, लखन दास तत्मा, शारदा देवी थापा र मनोजकुमार सिंह रहेका छन् । सरकारसँग भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको तथा सुशासन र विकास निर्माणका काम प्रभावकारी नभएको आरोप लगाउँदै एमालेले समर्थन फिर्ता लिएको जनाएको छ ।
०२. मधेश प्रदेश स्वास्थ्य मन्त्रालयमा करार सेवामा कर्मचारी माग
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न पदमा करार सेवाका लागि कर्मचारी माग गरेको छ । आर्थिक वर्ष २०८३/०८४ को असार मसान्तसम्मका लागि योग्य नेपाली नागरिकबाट १५ दिनभित्र दरखास्त आह्वान गरिएको हो। पदअनुसार सीप परीक्षण, अन्तर्वार्ता वा लिखित परीक्षामार्फत कर्मचारी छनोट गरिने मन्त्रालयले जनाएको छ। इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित कात्तिक १३ गतेभित्र मन्त्रालयको प्रशासन शाखामा निःशुल्क आवेदन दिन सक्नेछन् ।
०३. निजगढ र कलैयाका पाँच व्यवसायीलाई एक लाख पाँच हजार जरिवाना
चाडपर्वलक्षित बजार अनुगमनका क्रममा बाराको निजगढ र कलैयाका पाँच व्यवसायीलाई एक लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले म्याद गुज्रिएका खाद्य सामग्री तथा मिठाई बनाउन प्रयोग हुने सामग्री फेला पारेपछि जफत गरी नष्ट गरेको हो। अनुगमनका क्रममा निजगढका तीन व्यवसायीलाई ९० हजार र कलैयाका दुई व्यवसायीलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
०४. बारामा ७१औँ प्रहरी दिवस मनाइयो, अमर प्रहरी परिवारसँग अन्तरक्रिया
जिल्ला प्रहरी कार्यालय बाराले ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी अधिकारी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, पूर्वप्रहरी कर्मचारी, सञ्चारकर्मी र अमर प्रहरी परिवारका सदस्यहरूको सहभागिता थियो। कार्यक्रममा प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहित वरिष्ठ प्रहरी अधिकृतहरूले अमर प्रहरी परिवारका सदस्यसँग अन्तरक्रिया गरेका थिए ।
०५. वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका श्रमिकले पाएनन् आधारभूत सुविधा
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र र सामाजिक सुरक्षाजस्ता आधारभूत सुविधा नपाएको विषय उठेको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले श्रम कानुनको प्रभावकारी कार्यान्वयन र श्रमिकको अधिकार संरक्षणमा स्थानीय सरकारलाई थप जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् । नगरप्रमुख राजन पौडेलसहित सहभागीहरूले श्रमिकमाथिको विभेद अन्त्य गर्दै सुरक्षित कार्यस्थल र समान सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
०६. वीरगंज भन्सारबाट सस्तोमा लिलामीका सामान दिलाइदिने भन्दै ठगी, एक जना पक्राउ
वीरगंज भन्सार कार्यालयबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तोमा मिलाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौंमा बस्दै आएका २७ वर्षीय प्रवीण साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई वीरगञ्ज महानगरपालिका–८, घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको हो। भन्सारमा आफ्नो पहुँच रहेको भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर सम्पर्कविहीन भएको आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
०७. बलान नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दनको शव फेला
सिरहाको लहान नगरपालिका–२३ स्थित बलान नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दन महतोको शव फेला परेको छ। बर्दिबासबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टाको खोजीपछि नदीको गहिरो भागबाट उनको शव निकालेको हो । नदीमा नुहाउने क्रममा १४ वर्षीय राजु महतो र अभिनन्दन डुबेका थिए। राजुको शव बिहीबार नै स्थानीय युवाले फेला पारेका थिए ।