काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेको एक महिनाभित्रै श्वेतपत्र सार्वजनिक गरेका छन् । उक्त श्वेतपत्रमार्फत उनले देशभरको विद्युत् पहुँच, आपूर्ति–मागको अवस्था तथा आगामी ऊर्जा योजनाका बारेमा जानकारी दिएका छन् ।
श्वेतपत्रअनुसार हाल देशका ९७.५ प्रतिशत पालिकामा विद्युत् सेवा पुगेको छ भने वडास्तरमा यो पहुँच ९५ प्रतिशत र घरसंरचना अनुसार ९१.४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । हाल देशको आन्तरिक विद्युत् माग २,३३७ मेगावाट रहेको छ र यो चालु आर्थिक वर्षको अन्त्यसम्म २,४३८ मेगावाट पुग्ने अनुमान गरिएको छ ।
शाक्यका अनुसार वर्षा याममा विद्युत् खेर जानु र सुख्खा याममा आपूर्ति अपुग हुनु प्रमुख चुनौती हो। प्राधिकरणको अनुमानमा सन् २०८२/८३ मा वर्षा याममा २,६४८ मेगावाट र २०८३/८४ मा ३,३१६ मेगावाट विद्युत् जगेडा हुने देखिएको छ, जसले निर्यातको आवश्यकता देखाउँछ। तर, त्यसै अवधिको सुख्खा याममा क्रमशः ७९१ र ७२८ मेगावाट विद्युत् अपुग हुने र आयात गर्नुपर्ने देखिएको छ ।
शाक्यले आयात शून्यमा झार्न तत्काल सम्भव नभएको स्पष्ट पार्दै ऊर्जा सुरक्षाको दीर्घकालीन समाधानका लागि अर्धजलाशय, पूर्ण जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणालीको निर्माण अपरिहार्य रहेको बताए ।
उनले विद्युत् खपतको वार्षिक वृद्धि दर हालको १२–१४ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउन सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको धारणा राखे ।