नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका विभिन्न दर्जाका १४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको समयभित्र सन्तोषजनक जवाफसहित हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाएर सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
प्रहरीका अनुसार कार्यक्षेत्रबाट कुनै जानकारी नदिई सम्पर्कविहीन भएका ती कर्मचारीहरूको खोजतलास गर्दा फेला नपरेपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गरिएको थियो । त्यसपछि पनि सम्बन्धित कार्यालयको सम्पर्कमा नआएपछि उनीहरूलाई सफाइको मौका दिन सार्वजनिक सूचना जारी गरिएको हो ।
प्रहरी नियमावलीको नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गतको कसुरमा नियम १०९ को देहाय (ख) को उपखण्ड (१) बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।
गैरहाजिर रहने प्रहरी कर्मचारीमा प्राविधिक प्रहरी नायव निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् ।
सूचनाअनुसार गैरहाजिर हुनेमा काठमाडौँ उपत्यका प्रहरी कन्ट्रोल रुमका प्राविधिक प्रहरी नायव निरीक्षक प्रविन तामाङ, प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी सहायक निरीक्षक सबिन बाम्प्ला मगर, कारागार सुरक्षा गार्ड पर्साका प्रहरी हवल्दार गेनालालन महतो, नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला महाराजगञ्जका प्राविधिक प्रहरी सहायक हवल्दार इश्वर चन्द्र कार्की र कारागार सुरक्षा गार्ड जाजरकोटका प्रहरी सहायक हवल्दार दिपेन्द्र बहादुर मल्ल रहेका छन् ।
त्यस्तै, कारागार सुरक्षा गार्ड इलामका प्रहरी जवान खुम बहादुर बस्नेत, राहदानी विभाग सुरक्षा गारद गुल्म काठमाडौँका सिर्जना बाकावल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका रघुनाथ केसी, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका टुपेन्द्र बहादुर सुनुवार, उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका लुम कुमारी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बैतडीका नवीन सुनार र प्रहरी चौकी लालुखुलाल कालिकोटका प्राविधिक प्रहरी जवान हरि कुमार रसाली पनि गैरहाजिर रहेका छन् ।
यसैगरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी कार्यालय सहयोगी सागर तामाङ र इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा खेलाडीका रूपमा कार्यरत प्रहरी कार्यालय सहयोगी जुनु स्याङ्बो लामा पनि लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ती कर्मचारीहरू गत भदौ र असोज महिनादेखि आ–आफ्नो दरबन्दीमा कुनै जानकारी नदिई अनुपस्थित रहँदै आएका छन् ।
प्रहरी प्रधान कार्यालयले सबै सम्बन्धित कर्मचारीलाई आफू कार्यरत दरबन्दी वा सूचना जारी गर्ने सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तोकिएको अवधिभित्र सन्तोषजनक कारणसहित उपस्थित नभए नियमअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।