नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार साँझको विद्युत् अवरोधलाई लोडसेडिङ नभई ‘प्राविधिक गडबडी’ भएको स्पष्ट पारेका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले चक्रवातजस्तै हुरीका कारण ढल्केबरबाट भारत र पश्चिमतर्फका सर्किटमा एकै पटक समस्या आएको जानकारी दिएका हुन् । ‘हिजो साँझ ६:३५ बजे चक्रवातजस्तो हुरीले रुखका हाँगाहरू भाँचिएर ढल्केबरबाट भारत र पश्चिमतर्फको लाइन दुबै अवरुद्ध भयो । त्यसैले सिस्टेम ट्रिप भएर बत्ती गएको हो,’ शाक्यले भने, ‘भारतसँग समन्वय गरेर राति पुनः बिजुली आपूर्ति सुरु गरियो ।’
उनले यस घटनालाई जलवायु परिवर्तनको असरसँग जोड्दै पछिल्लो समय मौसममा आउने अस्थिरता विद्युत् प्रसारण प्रणालीका लागि चुनौती बन्दै गएको बताए । ‘यो प्राविधिक गडबडी हो, जलवायु परिवर्तनले मौसममा आउने अस्थिरताका कारण यस्ता समस्या देखिन्छन्,’ उनले प्रष्ट्याए ।
शाक्यले यो अवस्थालाई लोडसेडिङ भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । ‘लोडसेडिङ सुरु भएको भन्दै इन्भर्टर, ब्याट्री किन्नुपर्ने हल्ला गरिएको छ, तर त्यो पूर्ण रूपमा गलत हो । यो लोडसेडिङ हैन,’ उनले भने ।
उनका अनुसार विद्युत् प्राधिकरणले यस्ता समस्याहरू दोहोरिन नदिने गरी समाधानका उपायहरूमा काम गरिरहेको छ । साथै भविष्यमा प्रसारण प्रणाली अझ बलियो बनाउन पहल भइरहेकाे जनाएका छन् ।