मधेश क्रिकेट लिग (एमसीएल) सिजन १ को उद्घाटन खेलमा बाराले सशक्त प्रदर्शन गर्दै सप्तरीमाथि ७ विकेटको सहज जित हात पारेको छ ।
कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा बाराले आक्रामक ब्याटिङका साथ लक्ष्य पछ्याउँदै १४ ओभर १ बलमै विजय प्राप्त गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । उसका लागि ब्याटिङ पक्षबाट उल्लेख्य प्रदर्शन गर्न नसक्दा मध्यम स्कोरमा सीमित रहनुपर्यो। जवाफी ब्याटिङमा बाराका खेलाडीहरू बलियो रणनीति र संयमित प्रहारका साथ मैदानमा उत्रिए। टोलीका लागि निरजकुमार यादवले ६५ रन र पवन सर्राफले ४१ रनको योगदान गर्दै सहज जीत सुनिश्चित गरे ।
सप्तरीको बलिङ आक्रमण बाराको आक्रामक रन रेट नियन्त्रण गर्न असफल रह्यो। बाराले तीन विकेट मात्र गुमाउँदै लक्ष्य पुरा गर्दा खेलको दिशा सुरुदेखिनै आफ्नो पकडमा राख्यो । खेलअघि विशेष समारोहबीच लिगको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा विभिन्न खेलकुद संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, क्रिकेटप्रेमी तथा खेलप्रेमीको उल्लेखनीय उपस्थिति थियो ।
मधेश प्रदेशमै पहिलोपटक आयोजना गरिएको यस लिगमा मधेशका आठवटै जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। लिगको खेलहरू वीरगञ्जको टिबी शाह क्रिकेट (नारायणी) रंगशाला र कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा हुँदैछ ।
प्रतियोगिताको उद्देश्य मधेश प्रदेशभित्रको क्रिकेट विकास, नवप्रवेशी खेलाडीहरूको प्रतिभा पहिचान, युवा सहभागिता अभिवृद्धि र सामाजिक सद्भाव विस्तार गर्नु रहेको आयोजकले जानकारी दिएका छन् ।
एमसीएलको सफल सुरुवातले प्रदेशमा क्रिकेटको सम्भावना अझ व्यापक हुने विश्वास गरिएको छ ।