पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित मिनी रङ्गशालामा सञ्चालन भइरहेको प्रथम जिराभवानी भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिराभवानी भेट्रान्सले शानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
आज सम्पन्न प्रतियोगिताको सेमिफाइनल खेलमा जिराभवानी भेट्रान्सले हटिया हेटौँडा भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै आयोजक टोलीले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
खेलमा जिराभवानी भेट्रान्सका जर्सी नम्बर ७ का तेज थापा मगरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि जर्सी नम्बर ४ का सुनिल राउतले दोस्रो गोल गरे। जर्सी नम्बर ६ का भागिरथ घिमिरेले तेस्रो गोल थपे भने सुनिल राउतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जित सुनिश्चित गरे ।
खेलभरि प्रभावशाली प्रदर्शन गरेको जिराभवानी भेट्रान्सले हटिया हेटौँडा भेट्रान्सलाई कुनै गोल गर्न नदिई ४–० को जित निकालेको हो । दुई गोल गरेका जर्सी नम्बर ४ का सुनिल राउत खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
यस जितसँगै आयोजक जिराभवानी भेट्रान्सले उपाधिका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । अब टोलीले फाइनलमा वीरगंज सिटी भेट्रान्स र बकुलिया बारा भेट्रान्सबीच हुने प्रतिस्पर्धाको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ४ बजे वीरगंज सिटी भेट्रान्स र बकुलिया बारा भेट्रान्सबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले आगामी कार्तिक १ गते हुने फाइनलमा आयोजक जिराभवानी भेट्रान्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
स्थानीयस्तरमा भेट्रान्स फुटबलको विकास, पूर्वखेलाडीलाई खेलकुदमा सक्रिय राख्न तथा फुटबलप्रतिको आकर्षण बढाउन प्रतियोगिताले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।