पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित मिनी रङ्गशालामा जारी प्रथम जिराभवानी भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा वीरगंज सिटी भेट्रान्सले बकुलिया बारा भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न खेलमा वीरगंज सिटी भेट्रान्सका जर्सी नम्बर ७ का चन्द्रशेखर चौधरीले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले हाफ टाइमको दोस्रो मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसैगरी, वीरगंज सिटी भेट्रान्सका जर्सी नम्बर ११ का हिरालाल चौधरीले हाफ टाइमको २०औँ मिनेटमा गोल गरे। वीरगंज सिटीले कुल चार गोल गर्दा बकुलिया बारा भेट्रान्सले कुनै गोल गर्न सकेन। खेलमा वीरगञ्ज सिटी भेट्रान्सका जर्सी नम्बर १५ का खेलाडीले पहेँलो कार्डसमेत पाएका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले तीन गोल गरेका चन्द्रशेखर चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए ।
जितसँगै वीरगंज सिटी भेट्रान्सले फाइनलमा स्थान सुरक्षित गरेको छ । फाइनलमा वीरगंज सिटी भेट्रान्सले आयोजक जिराभवानी भेट्रान्सको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक १ गते आइतबार दिउँसो ३ बजेदेखि सेढवास्थित मिनी रङ्गशालामा हुने आयोजकले जनाएको छ ।