परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाज र राष्ट्रको समुन्नतिको मार्ग सकारात्मक सोच र दृष्टिकोणबाट मात्र तय हुनसक्ने बताएकी छन् । जापानको टोकियोमा आयोजित नेपाली जनसम्पर्क समिति जापानद्वारा आयोजित स्वागत समारोहमा बोल्दै उनले नकारात्मक सोचले समाज र देश दुवैको विकास रोकिएको टिप्पणी गरिन् ।
उनले भनिन्, “केही हुँदैन, केही सम्भव छैन भन्ने नकारात्मक धारणा फैलाउने प्रवृत्तिले न त समाज बनाउँछ, न देश । यस्ता सोचबाट माथि उठेर हामीले सकारात्मक वातावरण निर्माण गर्न आवश्यक छ ।”
मन्त्री राणाले यस्तो सोच नेपाली राजनीतिक दल, समाज तथा विदेशमा बस्ने नेपालीहरूमा पनि व्याप्त रहेको उल्लेख गर्दै सबैलाई सकारात्मक योगदानका लागि प्रेरित गरिन । उनले मिडिया र सामाजिक सञ्जालमा राम्रा कामको प्रशंसा नगर्ने तर नकारात्मक कुरा मात्र भाइरल बनाउने प्रवृत्तिको आलोचना गर्दै भनिन्, “देश यसरी बन्दैन ।”
उनले गैरआवासीय नेपालीहरू (NRNs) लाई पनि एकताबद्ध भई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै भनिन्, “संसारभर छरिएर रहेका नेपाली डायस्पोरासँग ठूलो शक्ति छ । सानातिना कुरामा नअल्झी एउटै एनआरएनए बनाउन लाग्नुस् ।”
राणाले हालै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन सर्वोच्च अदालतको परमादेशअनुसार सहमतिमा सम्पन्न भएको र नयाँ कार्यसमिति गठन भएको स्पष्ट पारिन् ।
त्यसका साथै उनले विदेशमा रहेका नेपालीहरूको सीप, ज्ञान र पुँजी नेपालमै लगानी गर्न आग्रह गरिन् । आफू परराष्ट्रमन्त्री भएपछि मन्त्रालयमा विशेष ‘डायस्पोरा महाशाखा’ स्थापना गरिएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको साथ र सहयोग आवश्यक रहेको बताइन् ।
“हामीले आर्थिक कूटनीति र नेपाली डायस्पोरा दुबैलाई लक्षित गरी छुट्टाछुट्टै महाशाखा स्थापना गरेका छौं,” मन्त्री राणाले भनिन्, “नेपाल सरकार यो अभियानमा सबै नेपालीको सहभागिता र समर्थनको अपेक्षा राख्छ ।