भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार, संक्रमण पुष्टि हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । कोभिड पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी २० वर्षीय युवक, अछामको ढकारी गाउँपालिका निवासी ३२ वर्षीय युवक र कैलालीको धनगढी उपमहानगरपालिका निवासी २४ वर्षीया महिला रहेका छन् । ती सबै भारतका विभिन्न सहरबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका थिए ।
जोशीका अनुसार, गौरीफन्टा नाकामा शंका लागेका ३६ जनाको परीक्षण गर्दा ती तीन जनामा संक्रमण देखिएको हो। “संक्रमित सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ,” उनले भने, “तीनैजनाको नमुना काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। पिसीआर परीक्षणपछि कुन भेरियन्टको संक्रमण हो भन्ने थाहा हुनेछ ।”
भारत तथा अन्य छिमेकी मुलुकहरूमा कोभिड संक्रमण फेरि देखा पर्न थालेकाले नेपालमा समेत जोखिम बढेको भन्दै सुदूरपश्चिम प्रदेशका सबै सीमा नाकामा सतर्कता अपनाइएको बताइएको छ ।
यही सन्दर्भमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले संक्रमणको सम्भावित महामारीलाई ध्यानमा राखी मातहतका कार्यालय, अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । तर, सुदूरपश्चिमका सीमावर्ती क्षेत्रमा संक्रमण पत्ता लगाउने किटको अभाव देखिएको र परीक्षणमा कठिनाइ भइरहेको जनाइएको छ ।