उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सुरक्षा निगरानी कडा बनाइएको छ ।
नेकपा बहुमतका कार्यकर्ताहरूले बिहीबार न्यायाधीश डा. खुशीराम थारुमाथि अदालतको इजलासमै मोसो छ्यापेपछि उत्पन्न असहज परिस्थितिका कारण अदालत परिसरमा कडाइ गरिएको हो । पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार घटनापछि अदालतमा कार्यरत १३ जना न्यायाधीशहरूको प्रमुख सुरक्षा अधिकृत (PSO) परिवर्तन गरिएको छ। साथै, अदालतको समग्र सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको १० सदस्यीय टोलीलाई फिर्ता बोलाइएको छ ।
डीएसपी लम्सालले फिर्ता बोलाइएका PSOहरूको स्थानमा नयाँ सुरक्षाकर्मीहरू खटाइएको जानकारी दिँदै, “पहिले १० जना प्रहरी मात्रै खटिएका थिए, अब १५ जना प्रहरीलाई सुरक्षार्थ खटाइएको छ,” भने ।
यस सुरक्षा फेरबदलसँगै अदालत परिसरमा पुग्ने सेवाग्राही, सर्वसाधारण र कानुन व्यवसायीहरूलाई समेत कडाइका साथ चेकजाँचपछि मात्रै प्रवेश दिइएको छ। अदालतको मूल गेटमै विशेष निगरानी र शारीरिक जाँचका साथै परिचय खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।