काठमाडौँ । टप एण्ड टी–२० शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको हो ।
योसँगै नेपालको तीन खेलको हारको शृङ्खला रोकिएको छ। नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले हार, जबकि मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले पराजित भएको थियो ।
हरिकेन्सले १ सय ८१ रनको लक्ष्य पछ्याउँदै १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन मात्र बनायो । नेपालका नन्दन यादवले ३ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ५ विकेट लिए ।
हरिकेन्सका लागि ब्राड्ली होपले ३६ बलमा ३१ रन बनाए । चार्ली वाकिमले २१ बलमा २८ रन बनाए भने विकेट किपर ज्याक कर्टेनले १२ बलमा २१ रन बनाउँदै नटआउट रहे । नेपालका रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १–१ विकेट लिए ।
नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । आरिफ शेखले सर्वाधिक ३३ रन बनाउँदै २६ बलमा ३ चौका प्रहार गरे । ओपनर आसिफ शेखले २८ बलमा २९ रन बनाए र २ चौका प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले २० बलमा २७ रन जोड्न ४ चौका प्रहार गरे ।
लोकेश बमले ११ बलमा २५ रन बनाए, ३ चौका र १ छक्का प्रहार गरे। भीम सार्कीले १८ बलमा १८ रन जोड्दै २ चौका प्रहार गरे । होबार्ट हरिकेन्सका निभेथम र राधाकृष्णन् र राफ म्याकमिलनले २–२ विकेट लिए। मार्कस बिन, गाबे बेल र ब्राडली होपले १–१ विकेट हात पारे ।
नेपाल अब पाँचौं खेल अगस्ट २० मा मेलबर्न रेनेगेड्ससँग खेल्नेछ भने अन्तिम खेल २२ तारिखमा पाकिस्तान शाहिन्ससँग खेल्नेछ ।
भिडियाे सामाग्री