वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप बढ्दै गएपछि गृहमन्त्री रमेश लेखक शनिबार नारायणी अस्पताल आइपुगेका छन् ।
अस्पताल पुगेका उनले हैजा नियन्त्रणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै तत्काल आवश्यक जनशक्ति र औषधी उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेकाे बताए । उनले “डाक्टर चाहियो भन्नुस्, नर्स चाहियो भन्नुस्, औषधी चाहियो भन्नुस्— सरकार तयार छ । वीरगञ्जमा हैजा नियन्त्रण हुनु नै पर्छ,” गृहमन्त्री लेखकले अस्पताल सभाहलमा आयोजित बैठकमा भने ।
उनले वीरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन स्वास्थ्य मन्त्रालय र स्थानीय तहलाई समन्वय गरेर तत्काल छानबिन अघि बढाउन निर्देशन दिए । गृहमन्त्री लेखकले प्रहरी प्रशासन र सुरक्षाकर्मीलाई पनि जनचेतना अभिवृद्धि, सफाइ अभियान र संक्रमित क्षेत्रमा स्वच्छ पानी उपलब्ध गराउन स्थानीय तहसँग सहकार्य गर्न आदेश दिएका छन् ।
उनका अनुसार हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मी मात्र नभई स्थानीय समुदायलाई सचेत पार्नु आवश्यक छ । नारायणी उपक्षेत्रीय अस्पतालमा संक्रमितको उपचार भइरहेको छ । अस्पताल प्रशासनले बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको भन्दै थप शय्या, नर्स र आवश्यक औषधीको आवश्यकता औंल्याएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार वीरगञ्जमा हैजा र झाडापखालाका संक्रमित ६२४ पुगेका छन् । तीमध्ये ४३७ जना निको भई घर फर्किएका छन् भने १८७ जना हाल उपचाररत छन् । पछिल्लो २४ घण्टामा मात्रै ८४ नयाँ बिरामी थपिएका छन् । वीरगञ्जमा झाडापखालाबाट हालसम्म ३ जनाको मृत्यु भइसकेको छ ।
भिडियाे सामाग्री