काठमाडौँ । २४ भदौमा देशव्यापी रूपमा फैलिएको प्रदर्शन र हिंसाको क्रममा प्रदर्शनकारीको मुख्य निशाना प्रहरी प्रशासन बनेको थियो । २३ भदौमा राज्यपक्षबाट भएको हत्याको सम्पूर्ण दोष प्रहरीलाई लगाउँदै आक्रोशित भिडले देशभरका प्रहरी कार्यालय र कर्मचारीमाथि आक्रमण गरेको थियो । त्यही क्रममा राजधानीको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटबाट क्षतिग्रस्त बन्यो ।
तर, त्यसै दिन सो कार्यालयदेखि करिब २४० मिटर दक्षिणमा रहेको नेपाल प्रहरीको साइबर ब्युरो भने स्थानीय बासिन्दाको सुझबुझका कारण ठूलो क्षतिबाट जोगिन सफल भयो ।
साइबर ब्युरो देशभरका साइबर अपराधसँग सम्बन्धित अनुसन्धान गर्ने संवेदनशील निकाय हो, जहाँ महत्त्वपूर्ण प्रमाण, सर्भर, डेटा र अनुसन्धानका फाइलहरू सुरक्षित राखिएका छन् । सो दिन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी कार्यालयमै हुनुहुन्थ्यो । उहाँले सम्झनुभयो, “दिउँसो १ बजे महिला तथा बालबालिकासम्बन्धी साइबर अपराधबारे अन्तर्वार्ता सकेलगत्तै बाहिर जमात देखियो ।”
त्यो दिन बिहानै सम्भावित अवस्थालाई ध्यानमा राख्दै ब्युरोले करिब ४० जना प्रहरीलाई तयारी अवस्थामा राखेको थियो । तर, स्थिति चाँडै बदलियो । अवस्थीका अनुसार माथिबाट आएको निर्देशनपछि बर्दीमा रहेका प्रहरीलाई पनि सिभिल ड्रेसमा फर्काइएको थियो । “हामी अनुसन्धान निकाय हौं, हतियार पनि हुँदैन । अराजक भिडसँग प्रतिकार गर्ने स्थिति थिएन,” उहाँले स्पष्ट पार्नुभयो ।
दिउँसो करिब २ बजेतिर उपत्यका प्रहरी कार्यालयमा आगजनी भइसकेपछि भिड साइबर ब्युरोतर्फ अघि बढ्यो । पूर्वसूचना पाएर कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । तर, भिडले भवनमा आक्रमण र आगजनीको प्रयास गर्न थालेपछि स्थानीय बासिन्दा नै ‘ढाल’ बनेर उभिए ।
असन बजारसँग जोडिएको उक्त भवनमा आगो लागे पूरै बजार खरानी बन्न सक्ने खतरा थियो । स्थानीयले प्रदर्शनकारीलाई सम्झाउँदै भनेका थिए, “यो भवन जलाउनु भनेको हाम्रो घर जलाउनु हो । यहाँ आगो लाग्यो भने पूरै असन बजार सखाप हुन्छ ।” स्थानीयको तर्क र आफ्नो घर-व्यवसाय जल्ने डरकै कारण प्रदर्शनकारी पछि हटे ।
यदि त्यस दिन साइबर ब्युरो जलेको भए देशको साइबर सुरक्षासम्बन्धी अनुसन्धान र संवेदनशील प्रमाणमा अपूरणीय क्षति पुग्ने निश्चित थियो । “हाम्रो कार्यालयमा सर्भर, इन्टर्नल एप्लिकेसन, संवेदनशील डेटा, अनुसन्धानका मिसिल र प्रमाणका रूपमा राखिएका डिजिटल उपकरण थिए,” अवस्थीले बताए, “ती सबै नष्ट भएको भए अनुसन्धान प्रक्रिया नै ध्वस्त हुन्थ्यो ।”
यद्यपि, ब्युरोले उपत्यका प्रहरी कार्यालयमा सुरक्षित राखेका आफ्ना चार ओटा गाडी भने आगजनीमा परेर जलेका छन् । तर, स्थानीय नागरिकको सुझबुझकै कारण संवेदनशील मानिएको साइबर ब्युरोको भवन र त्यहाँ रहेका लाखौँ मूल्यका उपकरण तथा प्रमाण भने सुरक्षित रहन सफल भए ।