काठमाडौं | नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा भारतलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न बाउलको पहिलो खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको विशाल योगफल बनाएको थियो ।
नेपालका राशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै १७ बलमा ५५ रन प्रहार गरे। उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए। कप्तान सन्दीप जोरा ४७ रन र लोकेश बम ३१ रनमा अविजित रहे ।
जवाफमा भारत १३८ रनको लक्ष्य पछ्याउने क्रममा ३ ओभरमै सबै विकेट गुमाउँदै ४५ रनमै समेटियो । भारतका ओपनर भारत चैपली र प्रियांक पन्चालले समान १२–१२ रन बनाए भने अन्य ब्याटरहरू दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।
नेपालका राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट हात पारे ।
नेपालको यो जितसँगै टोलीले हङकङ सिक्समा बलियो सुरुवात गरेको छ ।