सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारलाई सम्मानपत्र र नगद प्रदान गर्नुभएको हो । कार्यक्रममा पत्रकार शम्भु दंगाललाई १ लाख रुपैयाँ तथा पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा मन्त्री खरेलले जेनजी आन्दोलनको समाचार संकलनका क्रममा घाइते भएका पत्रकारलाई राज्यले न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले घाइते पत्रकारहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्पष्ट पार्नुभयो ।
साथै, रोजगारविहीन घाइते पत्रकारहरूको हकमा नेपाल पत्रकार महासङ्घले कुनै न कुनै सञ्चारमाध्यममा रोजगारीको व्यवस्था मिलाउन पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै सञ्चारकर्मीको संरक्षण र सहयोगका लागि सरकार निरन्तर सक्रिय रहेको बताउनुभयो ।
सम्मान कार्यक्रममा सहभागी घाइते पत्रकारहरूले आफूहरूप्रति कुनै किसिमको विभेद नगर्न र न्यायसंगत व्यवहार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका थिए ।